|
||||||
|
|
|
|
||||
|
|
तेक्वान्दोको इतिहासढुंगे युग भन्दा धेरै अगाडि जब मानिसहरु हतियार प्रयोग गर्न पनि जान्दैनथे त्यसबेला देखि नै आफ्नो जिवन र जातिको अस्तित्व तथा जिवनरक्षाको लागि शत्रुलाई परास्त गर्न आफ्नो नांगो हात र खुट्टाको प्रयोग गर्दै आइरहेको पाइन्छ । तेक्वान्दोको मूल स्वरुप पनि यहि मानव विकासका क्रममा कोरियाली प्रायद्विपमा प्रयोग गरिएको शिप र कौशललाई विभिन्न समय क्रममा र विभिन्न अवस्था अनुसार विकसित गर्दै लगिएको आत्मरक्षाको कला हो । तेक्वान्दोको विकासक्रम लाई यदि समयचक्र अनुसार भाग लगाएर अध्ययन गर्ने हो भने प्राचिन काल, मध्यकाल, आधुनिककाल र वर्तमान गरी चार भागमा विभाजन गर्न सकिन्छ । प्राचिन समयमा कोरियाली प्रायद्विपमा बस्ने गरेका तीन जातिहरुले आफ्नो अस्तित्वका लागि विभिन्न समयमा गर्ने आक्रमण र प्रत्याक्रमणका क्रममा विभिन्न कला र कौशलको प्रयोग गर्ने गर्दथे । समय समयमा भैरहने लडाँइबाट मानिसहरुले युद्धका लागि र आत्मरक्षाका लागि शिपको विकासगर्ने मौका पाए । त्यसै बेलामा नै सुबाक, ताएक्क्योन, ताक्क्योन जस्ता विविध शब्दावली प्रयोग गर्ने गरिन्थ्यो र तिनै शब्दहरुको विकासक्रम अनुसार नै आजको तेक्वान्दो शब्दको विकास भएको मानिन्छ । प्राचिनकालकै पछिल्लो समयमा कोरियाली प्रायद्विपमा कोग्युर्यो, पाएक्जे र सिल्या भन्ने तीन वटा राज्य शक्तिहरु अस्तित्वमा आए र सबैले एक अर्का संग लडाँइ गर्नको निमित्त आफ्ना सैन्य लडाकुहरुलाई निपुण बनाउन विभिन्न शिपहरुको विकास गर्न थाले र मार्शल आर्टलाई एक महत्वपूर्ण विषयको रुपमा लिई शिक्षाकै रुपमा अगाडि बढाउन थाले । यसरी ईसापूर्व ३७ मा नै कोरियाली प्रायद्विपको उत्तरी खण्डमा रहेको यालु नदिको तटमा अवस्थित कोग्युर्यो राज्यले र्सवप्रथम यसलाई संस्थागत गर्यो । त्यस समयको पुस्तक "म्युयेदोबो तोङ्ग्जी"ले यस युद्धकला वा आत्मरक्षाको कलाको विकासक्रमलाई प्रस्तुत गरेको छ । यसरी समयचक्र संगै विभिन्न चार्डपर्व तथा उत्सवहरुमा समेत उक्त कलालाई कसले सुन्दर र आकर्षक ढंगले प्रस्तुत गर्ने भन्ने प्रतियोगिताहरु हुने गरेको पाइन्थ्यो । वंश परंपरा, शिप तथा कौशलको हस्तान्तरण तथा कौशलको अभिवृद्धिमा रहेको उच्च लगावका कारण कोग्युर्यो राज्यबाट सिल्या राज्यमा ताएक्क्योनको प्रसारण भयो । अर्थात् कोग्युर्यो राज्यले विकास गरेको कलालाई सिल्या राज्यले अनुसरण गर्यो । इसाको २०० वर्षदेखि चौथो शताब्दि सम्म आईपुग्दा सिल्या राज्यको ह्वाराङजले ताएक्क्योन शिक्षालाई योजनावद्ध ढंगले प्रस्तुत गर्यो र "पाल्क्वानहोए" र "हान्कावी" जस्ता चाडहरुमा " सुवाक, दोक्क्योनी वा ताएक्कोनी" जस्ता ताएक्क्योनका प्रतियोगिताहरु समेत हुन थाले । यसै क्रममा मुख्यतः हातको मात्र प्रयोगहुँदै आइरहेको कलालाई विभाजन गरी हात र खुट्टा दुवैको प्रयोग गर्ने प्रविधिको विकास भएको पाईन्छ जसलाई प्राचिन बुद्धिष्ट कलाहरुमा समेत प्रयोग गरिएको देख्न सकिन्छ ।मध्ययुगीन तेक्वान्दो 5इसाको ९१८ देखि १३९२ मा जब कोर्यो कालमा कोरियाली प्रायद्विपको पुनरएकिकरण पश्चात् ताएक्क्योनको अझ बढी योजनाबद्ध ढंगले विकास भयो र यसलाई सेना छनौटको लागि लिइने परीक्षामा एक अनिवार्य विषय बनाइयो । यहि समयमा ताएक्क्योन मार्शल आर्ट यति शक्तिशाली हतियारको रुपमा विकसित भयो कि यो मानिस मार्नमा समेत प्रयोग हुन थाल्यो । कोर्यो राज्यलाई एकिकरण पछि सुरक्षाबलको सख्त खाँचो परेको थियो तसर्थ जसले ताएक्क्योन शिक्षा प्राप्त गरेको छ उसलाई राज्यले खोजी खोजी सुरक्षा निकायको कर्मचारीको रुपमा राख्न थाल्यो । जसले ताएक्क्योन शिक्षामा स्नातकोत्तर गरेको थियो उसको सोझै सैनिक जनरलको रुपमा पदोन्नती हुन्थ्यो र युवाहरुलाई ताएक्क्योनको प्रतिष्पर्धामा सहभागी हुन आह्वान गरीन्थ्यो र जसले प्रतिष्पर्धामा जित्छ वा राम्रो गर्छ उसलाई मिलिटरी अफिसरको रुपमा नियुक्ती दिइन्थ्यो । कोर्यो कालको वंशावलीमा ताएक्क्योन पावर टेक्निक्स्को प्रतियोगितामा लि यी मिनले दाहिने हातको मुट्ठीले एउटा घरको खम्बामा प्रहार गर्दा छानाका केही भागहरु हल्लिए, त्यस्तै ताएक्क्योनका अर्का प्रशिक्षार्थीले मुक्का प्रहार गर्दा भित्ताका केही भागहरु प्वाल परे भन्ने उल्लेख भएबाट राज्यले यसलाई कति महत्व दिएको रहेछ भन्ने थाहा पाउन सकिन्छ । मुख्यतः कोर्यो वंशका राजाहरुको "सुवाखुइ" (ताएक्क्योन प्रतियोगिता)मा विशेष चाख थियो र उनीहरुको उक्त चाह नै वर्तमान तेक्वान्दोको पूर्वाधार हो भन्ने कुरा आजको यथार्थ हो । आधुनिक युगमा तेक्वान्दो 5यसरी ढुंगे युग देखि विभिन्न समयमा र विभिन्न रुपमा विकसित हुंदै आएको तेक्वान्दो आधुनिक कालमा प्रवेश गरे पश्चात् विभिन्न संक्रमण र समस्याको भुमरीमा फस्न पुग्यो । सन् १३९२ देखि सन् १९१० सम्म चोसुन कालमा र त्यसपछिका दिनहरुमा जापानी उपनिवेशको रुपमा रहेको कोरिया प्रायद्विपमा तेक्वान्दोको खासै विकास हुन सकेन । तात्कालिन समयमा बाहिरी मुलुक संगको युद्ध र आधुनिक शस्त्रास्तको अत्यधिक आवश्यकताको कारणले गर्दा केन्द्रिय सरकारले तेक्वान्दोलाई सरकारी तहबाट र्समर्थन र आवश्यक विकास गर्न सकेन तैपनि आधुनिक हात हतियारको चेपुवामा परेको तेक्वान्दो ताएक्क्योनको नामले भन्दा सुवाखुइको नामले नै प्रशिद्ध भै रहृयो । चोसुन काल कन्फुसियस विचारधाराबाट प्रभावित थियो र बुद्ध धर्मको हरेक चाड र संस्कृतिलाई यसले अस्विकार गरेको थियो । तर्सथ बुद्ध धर्मले प्रोत्साहन दिएको आत्मरक्षाको कला सुवाखुइलाई चोसुनकालमा महत्व दिइएन बरु कलाका अन्य रुप लाई महत्व दिइयो । यसरी सुवाखुइको रुपमा विकसित भएको तेक्वान्दोलाई राज्यले महत्व नदिंदा नदिंदै पनि परंपरागतरुपमा सैनिकहरुको छनौटको लागि एक आवश्यक अंगको रुपमा लिइने गरेको थियो भने विभिन्न चार्डपर्वमा लोकखेलको रुपमा प्रस्तुत हुने सुवाखुइ (तेक्वान्दो प्रतियोगिता) हेर्न र रमाइलो गर्न चोसुनकालका राजाहरु आउने गर्दथे । सुरक्षा विभागले सुवाखुइका तीन प्रतियोगिता जित्ने जो कोहिलाई पनि आफ्नो विभागमा रोजगारी प्रदान गर्ने नियम नै बनाएको थियो । यति हुँदाहुँदै पनि सरकारी तवरमा शुरु भएको शक्ति संघर्षले आत्मरक्षालाई भन्दा शक्ति कसरी हत्याउने भन्नेकुरालाई प्राथमिकताका साथ लिएकोले स्वभावतः तेक्वान्दोको प्रवर्धनमा कमी आयो । जव सन् १९५२ मा कोरियाली प्रायद्विप माथि जापानी हमला भयो तब मात्र राजा जुंग्ज्योको शाही सरकारले फेरि एक पटक राज्यको सुरक्षाको लागि सैनिक तालिम तथा आत्मरक्षामा आधारित सुवाखुइ युद्धकलालाई महत्वका साथ लिए । यसै समयमा हातले लडाँइ गर्ने तरिका शिर्षक राखी मुएदोबो-तोङ्जी भन्ने एक पुस्तक प्रकाशनले आत्मरक्षाको लागि चार खण्ड भएको पुस्तक प्रकाशन गर्यो । यस पुस्तकमा चित्र सहितका ३८ चलायमान तरिकाहरु थिए जुन वर्तमान तेक्वान्दोको पुम्सेका आधारभुत तरिकाहरु सँग मिल्दोजुल्दो थियो । जापानी उपनिवेशको रुपमा रहेको कोरियाली प्रायद्विप भरी नै जापानी शाषकहरुले सम्पूर्णरुपमा ताएक्क्योन लगायत अन्य लोकखेल लाई प्रतिबन्ध लगाएको थियो । सन् १९४५ मा जापानी उपनिवेशबाट स्वतन्त्र हुनु पूर्व कोरियाली प्रायद्विप भरी आत्मरक्षाको कला ताएक्क्योन्दो (तेक्वान्दो) लाई गुप्तरुपमा यसका मास्टर (गुरु)हरुले सिकाउने गर्दथे । तात्कालिन समयका गुरुहरु मध्ये यिम हो ताएक्क्योन्दोको ठूला गुरुका रुपमा प्रतिष्ठित थिए उनले पर्खाल माथि उफ्रिने र रुख तथा दाउराका बिचबाट बाघ जस्तै दौड्ने कलाको विकास गरेका थिए । उनले विकास गरेको कलामा एकै पटक १४ थरीका विधिहरुलाई प्रयोग गरेका थिए जसमध्ये ५ वटा लात्तीले हान्ने तरिका, ४ वटा हातका तरिका, खुट्टाका कुर्कुच्चामा बल लगाई गरिने तरिका ३ वटा, लात घुमाएर प्रहार गर्ने एक तरिका र सम्पूर्ण शरीरलाई नै झुकाएर प्रहार गर्ने तरिका हरुको प्रयोग थियो । जसमा पुम भन्ने शब्दावलीको प्रयोग गरिएको थियो जसको तात्विक अर्थ लडाँइका लागि आमने सामने भएर उभीनु भन्ने लाग्छ । ताएक्क्योन्दो प्रशिक्षण तथा विस्तार गरिएको पाइएमा गुरुहरुलाई जापानी उपनिवेशकालमा जेल सजाय हुने गर्दथ्यो तसर्थ सन् १९४५ पूर्वको समयमा बेलाबेलामा ताएक्क्योन्दो निस्कृय अवस्थामा रहने गरेको थियो । वर्तमान समयमा तेक्वान्दो 5जापानी उपनिवेशबाट मुक्त भए लगत्तै कोरियाली संस्कृति र परंपरामा नयाँ सोच र उत्साहको लहर फैलियो । तत्कालिन राष्ट्राध्यक्ष सिउङ मान लिको जन्मोत्सवको उपलक्ष्यमा गरिएको कार्यक्रममा ताएक्क्योन कलाका विशेषज्ञहरुको उपस्थितिमा विशेष गरी ताएक्क्योन कै एक विशेषज्ञ डुक कि सोङले राष्ट्राध्यक्ष सिउङ मान लिको अगाडि एक प्रदर्शन गरे र जापानी कराते र कोरियाली ताएक्क्योन (तेक्वान्दो)का विच रहेको भिन्नतालाई प्रस्तुत गरे । कोरियाली स्वतन्त्रताका दिनहरुमा पछि धेरै ताएक्क्योनका विशेषज्ञहरुले तेक्वान्दो डोजाङ (तेक्वान्दो प्रशिक्षण गराउने स्कुल)हरु खोले । दिन प्रतिदिन तेक्वान्दोका डोजाङ र विद्यार्थीहरु बढ्दै गए र एक आपसमा सामञ्जस्य कायम गरी आ-आफ्ना कार्यक्रमहरु विस्तार गर्दै गए । समयको अन्तराल सँगै विभिन्न डोजाङहरुका विच अन्तरसम्वन्धको विकास भयो र अन्ततोगत्वा एक बृहत्तर संस्थाको रुपमा तेक्वान्दोको विकास भयो । सन् १९५४ मा सबै डोजाङहरु लाइ समेटेर तेक्वान्दो संघको गठन भयो । त्यसैगरी सन् १९६१ को सेप्टेम्वर १६ मा तेक्वान्दो संघको नाम परिवर्तन गरी कोरिया ताएसूदो संघ राखियो । सन् १९६२ जुन २० का दिन कोरिया ताएसूदो संघले कोरियन खेलकुद परिषदबाट मान्यता प्राप्त गर्यो र सन् १९६३ अक्टोवर २४ का दिन राष्ट्रिय प्रतियोगितामा तेक्वान्दोलाई प्रदर्शन खेलका रुपमा प्रवेश गराइयो भने सन् १९६४ सेप्टेम्वर ३ मा बसेको ४५ औं बैठकले तेक्वान्दोलाई समावेश गर्नै पर्ने गरी बाध्यात्मक खेलको रुपमा राख्यो । अघिल्लो समयमा कोरिया ताएसूदो संघको नामबाट सञ्चालन हुँदै आइरहेको संघलाई सन् १९६५ को अगष्ट ५ तारिखका दिन पुनः नाम परिवर्तन गरी कोरिया तेक्वान्दो संघ बनाइयो । त्यस समयमा तेक्वान्दोको प्रतिष्पर्धालाई फ्लाइ देखि हेभी सम्म गरी कुल ७ तौल समूह अन्तर्गत खेलाइने गरिन्थ्यो । त्यसमा पनि प्रतिष्पर्धाको कुशलतालाई हेरी मध्यम तह र उच्च तह गरी खेलाइने गरिन्थ्यो । जस अन्तर्गत प्रथम डान र दोस्रो डान प्राप्त गरेकाहरु लाई मध्यम तहमा लिइने गरिन्थ्यो भने तेस्रो डान र त्यो भन्दा माथिका डानहरुलाई उच्च डानमा गणना गरिन्थ्यो । जब सन् १९६६ अक्टोबर २८ मा संस्थागतरुपमा नै प्रेसिडेन्ट कप तेक्वान्दो टिम प्रतिष्पर्धाको शुरुवात भयो तब मात्र लामो विकासक्रम सँगै तेक्वान्दोले एक कोषे ढुंगो पार गरेको देखिन्छ । यस प्रतियोगिता पश्चात् तेक्वान्दोको अन्य प्रतियोगिताहरु पनि लगत्तै शुरुवात भएको देख्न सकिन्छ । सन् १९६८ जुन १६ मा शुरु भएको "कोरिया तेक्वान्दो च्याम्पियनशिपमा विदेशीहरु" भन्ने प्रतियोगिता शुरु भएबाट तेक्वान्दोमा कोरियनहरुको मात्र नभै विदेशी प्रतियोगिहरुको समेत प्रवेश भएको देखिन्छ । तर्सथ यस दिन लाई पनि तेक्वान्दोको इतिहासमा एक महत्वपूर्ण घडीको रुपमा लिन सकिन्छ । यसैगरी पुरुषहरुको मात्र सहभागिता तथा वर्चश्व रहेको तेक्वान्दोमा महिलाहरुको सहभागितालाई सन् १९७० अक्टोबर २४ तारिखमा आयोजना गरिएको "नेशनल इलिमेन्ट्री स्कुल स्टुडेन्टस तेक्वान्दो च्याम्पियनशिप" ले सुनिश्चित गरी तेक्वान्दोको विकासक्रमलाई एक कदम अघि बढाएको पाइन्छ । यसै प्रतियोगिता पश्चात् आज सम्म पनि तेक्वान्दोको हरेक प्रतियोगिताहरुमा महिलाहरुको पनि सहभागिता रहँदै आएको छ । कोरियन समाजमा द्रुततर गतिमा तेक्वान्दोको विकास भै रहेको अवस्थामा राष्ट्रिय सुरक्षा निकायले यसको महत्वलाई हृदयंगम गरी सैनिकहरुको लागि खेलको रुपमा तेक्वान्दोलाई प्रवेश गरायो र सरकारी अनुशाषन कार्यक्रमका लागि छनौट गर्यो । भियतनाम युद्धमा कोरियन सैनिकहरुले शत्रुहरुका विरुद्ध तेक्वान्दोको कलालाई अत्यन्तै राम्रो सँग प्रयोग गरी सफलता हासिल गरे पश्चात् विश्वकै ध्यान यसतर्फ आकर्षित भयो । अन्ततः तेक्वान्दोको महत्वले यसलाई राष्ट्रिय खेलको रुपमा मनोनयन गर्न र मान्यता दिन कोरियाली सरकार सहमत देखियो । "शारीरिक शक्ति-राष्ट्रिय शक्ति" भन्ने नाराका साथ शारीरिक शक्ति बढाउन पूरै देशभर लहर नै फैलियो । कोरियाली राष्ट्रिय खेलकोरुपमा तेक्वान्दो पर्नुको कारणमा शारीरिक शक्तिको विकास गर्नु मात्र नभै मानसिक विकास र व्यक्तित्व विकासको अभिवृद्धि समेत गर्न सफल रहनु हो । 5
|
Nepalese National Paper
Nepalese Radio |
||||
|
© All Nepal Taekwondo Academy Web Master Last updated on: 11/29/2010 05:46:58 PM +0545 |
||||||